म जुरुक्क उठे, विस्ताराबाट । अघिल्लो रात खाना खाएर सधैको समयमा टिभी हेर्दै म आफ्नो विस्तारामा पल्टेको थिए । कतिखेर निद्रा लागेछ थाहा भएन । म उठ्दा विहान भईसकेको थियो घडि हेरे, छ बजेको थियो । सधै जसो म आठ बजे उठ्ने गर्दथे । दुनियाले आधा काम सक्दा म भरखर दात माझेको हुन्थे तर आज अचम्म भएको थियो । कसैको लागि यो आश्चर्य नलाग्न पनि सक्छ तर मेरो जीवनको यो पहिलो घटना थियो कि म साविकको समयभन्दा दुईघण्टा पहिला उठेको थिए ।
म आफ्नो घरको छतमा गए, जहाँबाट काठमाडौंको परिदृष्य प्रष्ट देखिन्थ्यो । हलचौक माथिको डाँडामा अवस्थित मेरो घर, आज अचम्म लागिरहेको थियो । मेरो घरबाट देखिएको काठमाडौंको त्यो परिदृष्य सधै देखेको भन्दा भिन्न थियो । ईटाका थुप्राहरुमात्र देखिने काठमाडौं हरियाली, व्यवस्थित अनि सुन्दर घरहरुको आकर्षक बनिसकेको थियो । मन लोभिदै थियो । मनमा रोमान्चक पैदा हुदै थियो । आखाले शितलता महसुस गर्दै थियो । विपरित दिशा तर्फ हेरे, मेरो घरबाट देखिने अर्को पहाडको डिस्को जुन सधै टाटे देखिन्थ्यो । एउटा पाईन्ट सात ठाउँमा टालेजस्तो देखिने त्यो डाँडा हरियाली थियो । जसको प्राकृतिक सुन्दरताको मात्र कल्पना गरिन्थ्यो तर त्यो यथार्थमा परिणत भएको थियो । प्राकृतिक सुन्दरताले परिपूर्ण देखिन्थ्यो । मेरो मन झन लोभिदै थियो । मैले आफ्नो कम्पाउण्ड तर्फ नजर लगे । रुख विरुवा थिए, जुन रातारात कसरी उम्रिए म अचम्ममा थिए । मेरो घर अगाडि सुन्दर वगैचा फूलहरु कसरी आए । अझ त्यो मेरो घर अगाडिको बाटो जुन खाल्टै खाल्टा परेको थियो जहा पानीको तालै ताल हुन्थ्यो । हिलो हुन्थ्यो, जसलाई टेकेर म आफ्नो घर प्रविष्ट गर्थे एका एक कसरी त्यतिसुन्दर बन्यो । बाटोको दुवै पट्टि ति रुख, फूलका सौन्दर्य कताबाट आए । ठूलो चौडा सडक कसरी भो, हिलो कहाँ गयो । यति सुन्दर सफा कसरी भो, टिलिक्क टल्कने कसरी भो । म अचम्ममा थिए । मैले सोच्न थाले यो मेरै घर त हो यो मेरै ठाउँ त हो,
म
तल झरे मेरो घरको नम्बर हेरे, मेरै हो । म सडकमै निस्कए । मैले मेरो गेट नेर लेखेको प्लेट हेरे, अधिकारी निवास, यो त मेरै हो । मैले नै लेखेको । म छक्क परे । मेरो घर अगाडि रामकाजी शाक्यको घर थियो । जसको घरको गेटमा हेरे शाक्य निवास देखे, त्यो पनि उनकै हो । म ठूलो सडकको विचमा उभिएर चारै तिर हेरे यस्तो लाग्थ्यो म कुनै बगैचामा थिए, हरियाली बगैचामा, फूलहरुको वगैचामा । मेरो घर त्यही सुन्दर बगैचाको विचमा थियो त्यसैले म प्रफुल्लित बन्दै थिए ।
मेरो मन त्यसै त्यसै नाच्न थाल्यो, त्यसैले म शयर गर्न हिडे, मानिसहरुको चहलपहल पनि हुदै थियो । अलिकतिको हिडाई पछि अर्को घर देखा पर्यो जुन घर जितवहादुर चौधरी दाईको घर थियो । निहाले, उनि मस्त आफ्नो घर अगाडिको सानो बगैचामा चियाको चुस्कि लगाईरहेका थिए । बोलाए उनि मुस्कुराए । भाउजु नि संगै थिईन, हासिन । अर्को पट्टि थापा बुबाको घर थियो यसो हेरेको गेटैमा फूलमा पानी हाल्दै रहेछन्, देख्ने वित्तिकै सोधिहाले, कता हिड्यौ भतिज ” मैले भने, यसै हिडेको ।” “मर्निङ्ग वाक यति खेर हुन्छ त बज्या” भनेर मलाई ड्यास दिईहाले । उनको त्यो ठट्यौलि स्वभावबाट म परिचित नै थिए । म उनको त्यो भनाईस्वरुप हासे मात्र । मलाई उनको ड्यासले भन्दा पनि आफ्नै ठाउँको यो एका एक परिवर्तनले मलाई आश्चर्य तुल्याईरहेको थियो ।
अलि पर हिडे राई निवास लेखिएको थियो, त्यो घरको नक्सा पनि परिवर्तन नै थियो, सुन्दर नै थियो । संगै रहेको गुरुङ्ग माईला दाईको घर, त्यो यादव काकाको घर, त्यो सगैको अनि अर्को पट्टि नेपाली निवास लेखिएको कान्छा दाईको घर पनि उस्तै चम्केको थियो । झन ति लप्टन हर्कबहादुर पुन काकाको घर को रौकताले मेरो मन उत्तिकै रोमान्चित तुल्लिएको थियो ।
मेरो यात्रा सौन्दर्यले तानेको थियो । सौदर्यताको आकलन गर्दै अगाडि बडिरहेका मेरा पाईला हलचौकसम्म पुग्दछन् । हलचौकमा आएपछि झन मेरो मनमा अनौठो तरङ्गको प्रादुर्भाव भो, त्यो चिल्लो सफा, बाटोमाथि कुदेको रेल । त्यो रेलमा चड्ने चाहनाले मलाई रेलमा चडाईहाल्यो । म रेलको यात्रा गरे, आनन्दको अनुभूति बहुदै हुदै थियो । म बागवजार आईपुगे । बागवजार त्यो हिजोको बागवजार थिएन । त्यहाँको स्वरुपनै परिवर्तन थियो । सफा, सुन्दर, हरियाली ।
उस्तै सफा, राम्रो, हरियाली थियो त्यो रत्नपार्क, उस्तै थियो त्यो टुडिखेल । रेलहरु गुडेकै थिए । गाडिहरु गुडेकै थिए । थिएन त धुलो, धुवाँको त्यो मुस्लो, फोरमैलाको दुर्गन्ध, यस्तो लाग्थ्यो कुनै वगैचामा हिड्दै छु । कसैको मुखमा मास्क थिएन, आफ्नै दुनियामा रमाउदै हिडेका थिए । चियापसलमा घन्टौ गफिने जमात थिएन, सवै जना आफ्नै काममा व्यस्त थिए । म त्यस्तो झुण्ड देख्दैनथे जो चिया गफमा यो शहरको, आफ्नो राष्ट्रको हविगतको वर्णन गरेको होस । म कुनै त्यस्तो झुण्ड देख्दैनथे, कसैद्वारा ठगिए, डकैतीको शिकार भइयो, विदेश जाने, विदेश पठाईदिन्छु भनेर यति पैसाबाट ठगिए, जस्ता आशयका अभिव्यक्ति दिईरहेको होस । म त्यहि चिया पसलमा थिए । चिया पिउदै थिए । त्यही चिया पसल हो, जहाँ थुप्रै व्यक्तिहरु आउने गर्थे जो घण्टौ वस्थे गफिन्थे, तर आज त्यो देखिएको थिएन ।
हिजो सम्म त्यो रानि पोखरी जहाँ पानी थिएन, भुईचालोले भत्काएको त्यो पोखरी बीचको मन्दिर आज सुन्दरतामा परिणत थियो । लोभै लाग्ने त्यो रानी पोखरी साच्चै नै लोभ लाग्ने खालको मानै परिणत भएको थियो । अनि त्यही रत्नपार्क जहा दिउसै देखि देहव्यापारको मोलमलाई हुन्छ भनिन्थ्यो, आज देखिएको थिएन । त्यो असन बजारको रौनकता झन मोहक थियो, त्यो दरवार हाईस्कुल, त्यो भोटाहिटिका गल्ली भित्रका घरहरुको मुहार फेरिएका देख्दा मन झन हर्सित बन्दै थियो । अझ भुईचालोले भत्काएको त्यो भीमसेन स्तम्भ, घरहराको पुन: निर्मित नया स्वरुप लोभलाग्दो थियो, केही वेर त म त्यही धरहराको सुन्दर प्राङ्गणमा बसि सुन्दरताको आनन्द लिन पछि हटिन ।
त्यस्तै थियो त्यो बसन्तपुर दरवार स्क्वायरको सुन्दरता, कति सफा, कति राम्रो, भत्किएको दरवार स्क्वायरका ति भवनहरु पनि पुरानै सैलीमा चम्काउने नै गरि पुन:निर्माण गरिएको, त्यो काष्ठमण्डप । आहा साच्चै आज स्वर्गको यात्रा गरिरहेको थिए ।
हिड्दै विष्णुमति पुग्दा उस्तै रौनकता थपिएको थियो । विष्णुमतिको त्यो दुवै किनारमा बनेका सुन्दर वगैचाले मन हर्सित बन्दै थियो । त्यो कन्चन पानी, सफा पानी, जुन हिजोसम्म मात्र पनि दुर्गन्धित, ढलयुक्त फोहर थियो, आज यति सुन्दर कसरी भयो । पर हेरे केही बच्चाहरु पौडी खेल्दै थिए । उनिहरुको अनुहारको त्यो हासो साच्चै देख्न लायक थियो । त्यो बगैचामा रमाईरहेका ति युगल जोडी, ति स–साना बालबच्चा सहितको परिवार, ति बुढापाकाको अनुहारमा देखिएको खुसिले मेरो मन पनि हर्सित बन्दै गईरहेको थियो । किन किन, ति बच्चाहरु विष्णुमतिमा पौडिरहेको देख्दा आफु पनि पौडिन मन लाग्यो । मैले केही नसोचि नदिको डिलमा गए अनि फाल हाले । तर मेरो खुट्टा बजारीन पुग्यो । घोडा बजारियो । दुखेको आभास भो । मेरो हातमा केही चिज तैरदै आयो त्यो टिभी रिमोट थियो म आफ्नै घरको कोठाको खाटबाट भुईमा बजारिएको थिए । मेरो कोठामा करिव छ इन्च पानी भरिएको थियो । टिभी खुल्लै थियो । अचम्ममा थिए । मेरो कोठामा पानी कसरी आयो । मैले हत्तनपत्त टिभी बन्द गरे । कारण पत्ता लगाउन पानी आईरहेको दिशा तर्फ लागे । माथि छतमा पुगे, छतमा त पानी भरिएको थियो । करिव एक फिटको पानी भरिएर भर्याङ्गको बाटो हुदै मेरो कोठासम्म पुगेको रहेछ । त्यहा त्यत्ति धेरै पानी निकासको प्वालनै बन्द भएका कारण भरिएको रहेछ । मैले निकासको प्वाललाई खोलिदिए । पानी विस्तारै प्वालबाट बग्न थाल्यो । म भने त्यही सपनाको दृष्यमा बग्न थाले । त्यो छतबाट उहि काठमाडौंको परिदृष्य हेरे । कुनै परिवर्तन थिएन, अर्को पट्टिको डाडा उस्तै थियो, टाटे डाडा । रोड तालै तालको रोड उस्तै थियो । सोचे, सम्झे यो त केवल सपना थियो, कल्पना थियो । भनिन्छ, कल्पना गरेको कुरा सपनामा उत्रन्छ रे । सायद, म धेरै सोच्थे कल्पना गर्थे । फेरि कल्पना विना सार्थकता कहाँ पाईन्छ र बस यसैले सोच्थे । आज एउटा प्रश्न मेरो मनमा उठेको छ । के कल्पना गरेको मेरो शहर हुन सक्दैन र ? के मेरो सपनाको शहर मेरो जीवन कालमा देख्न नपाउने नै हो त ? तर मैले सुनेको छु, कुनै कुनै सपना साकार पनि भएका छन् रे ।
Comments
Post a Comment